अछाम ।जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा चौरपाटी गाउँपालिकामा सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ।
दलित नेटवर्क चौरपाटी गाउँपालिकाका अध्यक्ष नवराज विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौरपाटी गाउँपालिकाका कार्यवाहक अध्यक्ष वीरबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, भूमि आयोग अछामका जिल्ला अध्यक्ष रामबहादुर आउजी, वडा नं. ४ का पूर्व अध्यक्ष हर्क लुहार लगायत दलित समुदायका अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले जातीय भेदभाव तथा छुवाछूत अझै पनि समाजमा चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सामूहिक प्रयास, जनचेतना अभिवृद्धि र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। उनीहरूले समानता, सामाजिक न्याय र मानव अधिकारको सुनिश्चिततामार्फत समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा साफेबगर नगरपालिका–४ का वडा सचिव धुर्व विकले सहजीकरण तथा प्रशिक्षण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन दलित नेटवर्क चौरपाटीका सचिव शेर बहादुर सुनारले गर्नुभएको थियो।
सहभागीहरूले जातीय विभेद र छुवाछूतमुक्त समाज निर्माणका लागि सबै तह र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमले सामाजिक सद्भाव, समान अवसर र समावेशी विकासप्रति साझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो।
नेपाल ‘जातीय छुवाछूतमुक्त राष्ट्र’ घोषणा भएको आज (जेठ २१ गते) दुई दशक पूरा भए पनि अझै पनि दलित समुदाय माथि विभेद कायमै रहेको पाईएको छ।


