जन्मोत्सवको अवसरमा दक्षिण कोरियाबाट विपन्न विद्यार्थीहरूलाई झोला सहयोग

​ जेठ ४ अछाम,मेल्लेख गाउँपालिका वडा नं. ८, हात्तीकोट, काँडागाउँ निवासी तथा श्री कालिका माध्यमिक विद्यालयका पूर्व विद्यार्थी सुरेश सुनारले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ। हाल वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका सुनारले आज जेठ ४ गते आफ्नो शुभ जन्मोत्सवको सुअवसर पारेर उक्त सहयोग गर्नुभएको हो।
​विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका १० जना जेहेन्दार विद्यार्थीहरूलाई पढाइमा थप प्रेरणा र हौसला मिलोस् भन्ने पवित्र उद्देश्यका साथ उहाँले स्कूल ब्याग (झोला) सौजन्य गर्नुभएको विद्यालय प्रशासनले जनाएको छ।
​आफ्नो कमाइको केही अंश जन्मभूमिको शिक्षा क्षेत्र र गरिब तथा विपन्न वर्गका बालबालिकाहरूको सहयोगमा खर्चिएर भाइ सुरेश सुनारले समाजमा एउटा अनुकरणीय र असल सामाजिक कार्यको थालनी गर्नुभएको स्थानीयहरूले बताएका छन्। उहाँका आमा बुवा द्वारा उक्त झोला हस्तान्तरण गरिएको छ।
​भौगोलिक दूरी टाढा भए पनि आफ्नो विद्यालय र गाउँका बालबालिकाको शिक्षाप्रति देखाउनुभएको यो सद्भाव र सहयोगका लागि श्री कालिका माध्यमिक विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण स्थानीयबासीहरूले उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै जन्मदिनको असीम शुभकामना व्यक्त गरेका छन्।