अछाम:नेपाली सेनामा पहिलोपटक शिख समुदायको प्रतिनिधित्व भएको छ। बाँकेको जानकी गाउँपालिका– २, बनकटवाका करनसिंह शिखले नेपाली सेनामा पहिलोपटक शिख समुदायको प्रतिनिधित्व गरेका हुन्। अछाम जिल्लास्थित गोरख बक्स गण मंगलसेन ब्यारेकमा सम्पन्न दसौँ समूहको सैन्य तालिममा सहभागी करनले ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ पूरा गरेसँगै नेपाली सेनामा शिख समुदायको ‘इन्ट्री’ भएको हो।
करनको आगमनसँगै अल्पसंख्यक शिख समुदायको समेत सेनामा प्रवेश प्रारम्भ भएको गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले बताए। ‘शिख समुदायको प्रवेशले हामी निकै खुसी छौँ,’ गणपति अधिकारीले भने, ‘यो सैनिक इतिहासकै दुर्लभ क्षण हो। करनप्रति हामी विशेष आभारी छौँ।’

