१२ साउन, काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयले गत आर्थिक वर्षको अन्तिम दिन अर्थात् ३२ असारमा अटोमेटिक फाइल स्वीकृत भएका करिब १९ हजार कम्पनीले अभिलेखनको पत्र अटोमेटिक जारी गर्न थालेको छ ।
कम्पनी ऐनमा गरिएको संशोधन मार्फत असार मसान्तसम्म विवरण पेस गरेका कम्पनीले अभिलेखनको पत्र ११ दिनसम्म पनि पाएका थिएनन् । आइतबार रातिबाट त्यस्ता कम्पनीलाई स्वचालित नै अभिलेखन पत्र जारी गर्न थालिएको निमित्त कम्पनी रजिस्ट्रार देवीप्रसाद सुवेदीले बताए ।



‘३२ असार राति १२ बजे यस कार्यालयबाट प्रकाशित सूचनाका सन्दर्भमा कम्पनी ऐन २०६३ (संशोधन सहित) को दफा ८१ बमोजिम कम्पनीहरूले क्यामिस प्रणाली मार्फत पेस गरी दफा ८० को उपदफा (३) बमोजिम स्वीकृत भएका आवेदनमा लागेको जरिबाना रकम अनलाइन मार्फत भुक्तानी गरेर बुझाउने बित्तिकै स्वचालित रूपमा वार्षिक विवरण अभिलेखनको पत्र प्राप्त हुने प्रबन्ध मिलाइएको छ,’ कार्यालयले आइतबार जारी गरेको सूचनामा छ ।
त्यसरी विवरण र लागेको जरिबाना बुझाइसकेका कम्पनीले क्यामिस प्रणालीको ड्यासबोर्डमा गई आफ्नो कम्पनीको अभिलेखन पत्र प्राप्त गर्न सक्ने उनले बताए ।

