पाटन नगरपालिकामा ‘झिकडे बार’

अनियमितता छानबिनको माग गर्दै कार्यालयमा विरोध कार्यक्रम

बैतडी, साउन ११ गते — पाटन नगरपालिकामा भएको भनिएको आर्थिक अनियमितताको छानबिनको माग गर्दै नेकपा (एमाले) ले आइतबार नगरपालिकाको कार्यालयमा ‘झिकडे बार’ लगाएर विरोध जनाएको छ।

एमाले नगर कमिटीले सञ्चालन गरेको ‘झिकडे आन्दोलन’ अन्तर्गत पाटन नगरपालिकाको मूल तथा भित्री प्रवेशद्वारमा बाँसको बार (झिकडे) लगाएर कार्यालय घेराबन्दी गरिएको हो। यसअघि असार २६ गते लेखा शाखामा उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा तालाबन्दी गरिएको थियो। एमाले नगर कमिटी अध्यक्ष धर्मराज भट्टका अनुसार लेखा शाखामा भएको तालाबन्दीका क्रममा उठाइएका मागहरूको छानबिन नगरिएको भन्दै थप आन्दोलन गरिएको हो। भट्टले अनियमितताका दोषीहरूलाई कारवाही गर्न माग गर्दै छानबिनको दवाब दिइरहेको जानकारी दिए ।

नगर कमिटीको बैठकबाट विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरिएअनुसार कार्यालय घेराबन्दी गरिएको हो। बैठकमा सहभागीहरूले पाटन नगरपालिकामा भएको भनिएको अनियमितताको छानबिन नभएसम्म आन्दोलन नरोकिने अडान राखेका थिए। उपप्रमुख बोहराको नेतृत्वमा लगाइएको तालाबन्दीमा बिना कागजात भुक्तानी, अपूर्ण कार्यको भुक्तानी तथा अन्य विविध अनियमितता भएको आरोप लगाइएको थियो। तालाबन्दी पछि नगर उपप्रमुख गौरी सिंह रावलले जिल्ला समन्वय समितिमा पत्र पठाएर सहजीकरणको आग्रह गरेकी थिइन्।

असार २७ गते जिल्ला समन्वय समितिको पहलमा समन्वय प्रमुख खगेन्द्र धामी, उपप्रमुख दमन कुँवर, पाटनका उपप्रमुख कमल सिंह बोहरा, कार्यकारी अधिकृत नारायण बिष्टलगायतको सहभागितामा बैठक बसेर नगर प्रमुखको भारत भ्रमण सकिएपछि छानबिन समिति गठन गर्ने सहमति भएको थियो। अनियमितता प्रकरणमा राजनीतिक दलहरूले पनि छानबिनको माग गरेका छन्। एमालेले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्रसमेत बुझाएको छ। लेखा शाखाको तालाबन्दी असार २९ गते हटाइएको भए पनि उपप्रमुख अनुपस्थित रहेको भन्दै बजार व्यवस्थापन समितिको अगुवाइमा उपप्रमुखको कार्यकक्षमा लगाइएको तालाबन्दी हालसम्म खोलिएको छैन।