जेठ ८,अछाम । चौरपाटी गाउँपालिका वडा नं. ५ लुंग्राका कृषकहरूले हराउँदै गएको रैथाने बाली संरक्षण अभियान सुरु गरेका छन् । स्थानीय कृषकहरूले यस वर्षदेखि कोदो, भटमास, जुवारो, धान, मकै लगायत स्थानीय जातका बाली पुनः लगाउने भएका हुन् ।
वि क्यान परियोजनाको सहयोगमा सम विकास नेपालले विभिन्न गाउँमा रैथाने बाली संरक्षण सम्बन्धी अभियान सञ्चालन गरेपछि कृषकहरू यस अभियानप्रति आकर्षित भएका छन् । पछिल्लो समय हाइब्रिड बालीको प्रयोग बढ्दै जाँदा परम्परागत स्थानीय बाली हराउने अवस्थामा पुगेपछि संरक्षण अभियानलाई तीव्र बनाइएको हो ।
स्थानीय कृषक मिठ्ठुदेवी खड्का र चन्द्रकला पाण्डेले आफूहरूले विगतदेखि नै रैथाने बाली लगाउँदै आएको बताए । तर जंगली जनावरबाट बाली जोगाउन चुनौती रहेको बताए । उनीहरूले रैथाने बाली स्वादिलो, पोषणयुक्त र स्वास्थ्यका लागि फाइदाजनक भएकाले यसको संरक्षण आवश्यक रहेको धारणा राखे ।
कृषि प्राविधिक कलशी कठायतले रैथाने बाली पोषणयुक्त, रोग प्रतिरोधात्मक क्षमता भएको तथा स्थानीय वातावरणसँग सहज रूपमा अनुकूल हुने बताए ।
वडा अध्यक्ष हिमकर्ण खड्काले रैथाने बाली स्वादिलो, स्वस्थकर र कम खर्चिलो हुने भएकाले यसको खेती विस्तार गर्नुपर्नेमा जोड दिए ।
रैथाने बाली संरक्षण अभियानले स्थानीय कृषि संस्कृति जोगाउनुका साथै कृषकलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


