अछाम।धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै आएको भजन–कीर्तन तथा आरती कार्यक्रमका लागि विभिन्न सांगीतिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।
“हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ” अभियान अन्तर्गत वैद्यनाथ क्षेत्र पुग्नुभएका नगर प्रमुख हमालले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउन हार्मोनियम, तबला, मादल, खैजडी, डोलक लगायतका सामग्री सहयोगस्वरूप प्रदान गर्नुभएको हो ।
नगर प्रमुख हमालले सामाजिक सञ्जाल मार्फत वैद्यनाथ क्षेत्रमा सञ्चालन भइरहेका धार्मिक कार्यक्रमबारे जानकारी पाएपछि सामग्री गरेको बताउनुभयो । उहाँले धार्मिक सम्पदाको संरक्षणसँगै स्थानीय संस्कृति, कला र मौलिक परम्पराको प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
उहाँले वैद्यनाथ क्षेत्र धार्मिक आस्था, संस्कृति र पर्यटनको दृष्टिले महत्वपूर्ण स्थल भएकाले यस्ता गतिविधिले क्षेत्रको पहिचान थप उजागर हुने विश्वास व्यक्त गर्नुभयो । साथै, स्थानीयले सञ्चालन गरिरहेका धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनको लागि सुझाव दिनुभयो ।
यस अवसरमा वैद्यनाथ वेद विद्याश्रमका प्रार्चाय देवराज उपाध्यायले नगर प्रमुख हमाल प्रति धन्यवाद व्यक्त गर्दै सहयोगले दैनिक भजन–कीर्तन तथा आरती कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने बताउनुभयो ।
प्राचार्य उपाध्यायले धार्मिक कार्यक्रम मार्फत स्थानीय कला, संस्कृति र मौलिक बाजागाजाको संरक्षणमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो । उहाँले युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्न यस्ता सहयोग महत्वपूर्ण हुने धारणा राख्नुभयो ।


