साँफेबगर नगरपालिकाद्वारा दमकल खरिद गर्ने निर्णय

साँफेबगर नगरपालिकाले आगलागी नियन्त्रणको लागि दमकल (वारुण यन्त्र) खरिद गर्ने निर्णय गरेको छ। नगरपालिकाको बैठकले आवश्यक प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले जानकारी दिनुभयो ।
दमकल (वारुण यन्त्र खरिदका लागि वजेटको व्यवस्थापन समेत भईसकेको नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।
नगर प्रमुख कुँवरले जिल्लामा बढ्दो आगलागी जोखिमलाई ध्यानमा राख्दै दमकलको व्यवस्था अब अत्यावश्यक आवश्यकता बनिसकेको बताउनुभयो ।
उहाँले सामूहिक प्रयास र व्यवस्थित तयारीका माध्यमबाट जनसुरक्षा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा, कार्यपालिकाको वैठकले हाटबजारका आगलागी पीडितलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि अनुमोदन गरेको छ ।
साँफे हाटबजारमा चालु वर्षकै वैशाख १३ र कात्तिक १५ गते दुई पटक ठूलो आगलागी हुँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको थियो ।
नगरपालिकाको यो निर्णयले आगलागी जोखिम व्यवस्थापन र राहत सहयोग दुबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

