हेडसर, समिति अध्यक्ष र लेखापाल मिलेर ४ लाख ७१ हजार झ्वाम

स्याङजाको गल्याङ नगरपालिका वडा नं. ४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रबिलाल लुईटेल, लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा समेतले आपसी मिलेमतो गरी ४ लाख ७१ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

विद्यालयको आ.व. ०७८।०७९ मा विद्यालयलाई ICT कार्यक्रम अन्तर्गत प्राप्त भएको रु.६,५०,००० बाट रु.२,१७,००० बराबरको विद्यालयको रकम हिनामिना गरेका छन् भने एक आपसमा मिलेमतो गरी विद्यालय कोषबाट आफूखुसी रुपमा विद्यालय व्यवस्थापन समितिको निर्णय वेगर प्रधानाध्यापक सापटी स्वरुप रु.२,५४,६६७.२६ बराबरको रकम प्रधानाध्यापकको नाममा चेक काटी विद्यालयको कोषबाट निकाली विद्यालयमा फिर्ता नगरी कुल जम्मा रु.४,७१,६६७.२६ बराबरको रकम हिनामिना गरेका छन् ।

उक्त भ्रष्टाचारजन्य कसूरमा संलग्न तीनै जना प्रतिवादीहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही रु.४,७१,६६७.२६ मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको छ। स्रोत शिक्षा