कमलबजार–टोड्केसालसम्मको नयाँ ११ के.भि. लाइन चार्ज हुने

अछाम – नेपाल विद्युत प्राधिकरण, अछाम वितरण केन्द्रले कमलबजार नगरपालिका–मुली, बयला हुँदै पञ्चदेवल विनायक नगरपालिका–टोड्केसालसम्म निर्माण गरिएको नयाँ ११/४ के.भि. प्रशारण लाइन तथा वितरण ट्रान्सफर्मर भोलि मिति २०८२ असोज ४ गते शनिबार बिहान १० बजेपछि जुनसुकै समयमा चार्ज हुने जनाएको छ।

यस अन्तर्गत कमलबजार नगरपालिका–बयलामा जडान गरिएका २५ के.भि.ए. र ५० के.भि.ए. का दुई ट्रान्सफर्मर र पञ्चदेवल विनायक नगरपालिका–टोड्केसालमा जडान गरिएको ५० के.भि.ए. ट्रान्सफर्मर सञ्चालनमा आउनेछन्।

प्राधिकरणले विद्युत प्रवाह सुरु भइसकेपछि विद्युत पोल, स्टे, तार लगायत कुनै पनि संरचना नछुन, नजिक नजान र पोल वा स्टे सेटमा पशु–पंक्षी बाँध्ने कार्य नगर्न सबैलाई आग्रह गरेको छ। साथै, लाइन परीक्षणका क्रममा त्यस्ता संरचनामा छोइएमा दुर्घटना हुनसक्ने हुँदा त्यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले नलिने चेतावनीसमेत दिएको छ।

यस्तै, लाइन परीक्षणका क्रममा कतै आगो बलेको जस्तो प्रकाश (स्पार्क) वा धुँवा देखिएमा तुरुन्त नेपाल विद्युत प्राधिकरण, अछाम वितरण केन्द्र वा तोकिएको मोबाइल नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।