बाल मैत्री स्थानीय शासनका सुचकहरुको अवस्था विश्लेषण सम्बन्धि दुई दिने अभिमुखिकरण मेल्लेख मा सम्पन्न

अछाम :मेल्लेखमा बाल मैत्री स्थानीय शासनका सुचकहरुको अवस्था विश्लेषण सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

बालमैत्री स्थानीय शासन युक्त पालिका बनाउने अभियानमा जुटेको मेल्लेख गाउँपालिकाले थप दुई वटा वडा यसै आर्थिक वर्षमा घोषणा गर्ने तयारी गरेको छ।

तीन वटा वडा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिसकेको मेल्लेखले थप दुई वटा वडा घोषणा गर्ने तयारी थालेको हो। पालिकाले चालु आर्थिक वर्ष ०८२र८३ मा वडा नम्बर १ ऋषीदह र वडा नम्बर २ डाँडाश्रीलाई बालमैत्री वडा घोषणा गर्न बजेट बिनियोजन गरि प्रक्रिया अघि बढाएको छ।

पालिकामा बालमैत्री स्थानीय शासनका सूचकहरुको अवस्था विश्लेषणसम्बन्धी दुई दिने अभिमूखिकरण आयोजना गरिएको छ। कार्यक्रममा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरु, यसको कानुनी प्रावधानहरुको बारेमा छलफल गरिएको छ।

सो अवसरमा यसअघि घोषणा भएका वडाहरुमा सूचकहरु कार्यान्वयनको अवस्था, दिगोपनाकालागि गर्नु पर्ने कामहरुको बारेमा पनि छलफल गरिएको छ। बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाका लागि बालविवाह, महिनावारी विभेद र मदिरा प्रमुख चुनौतिका रुपमा रहेको सरोकारवालाहरुले औंल्याए।

वडा नम्वर २ का अध्यक्ष कुशलराज बुढाले बालमैत्री वडा घोषणाका लागि आवश्यक सम्पूर्ण कामहरु सम्पन्न भइसकेकोले घोषणा गर्न मात्रै बाँकी रहेको बताए। वडा नम्बर १ का अध्यक्ष दिलबहादुर धामीले महिनावारी विभेद र सौचालय अभावले केही समस्या रहेको बताए।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ज्वालासिं साउँदले पालिकाले बालमैत्री शासन युक्त पालिका बनाउने अभियानलाई प्रमुख प्राथमिकता दिएर काम भइरहेको बताए। सम्भव भए चालु आर्थिक वर्षमै चारवटै वडा घोषणा गर्ने सोच बनाएको साउँदले जानकारी दिए।

कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बालमैत्री स्थानीय शासन युक्त स्थानीय तह बनाउन जरुरी रहेका बताए। उनले महिनावारी विभेदका कारण महिलाले ज्यानै गुमाउनु परेकाले विभेदको अन्त्य गर्न प्रशासन लागि परेको सुनाए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारले समाजको विकासका लागि बालबालिकाका क्षेत्रमा प्राथमिकता दिएर काम गर्नु पर्ने बताइन्।

कार्यक्रममा जिल्लामै दोस्रो बालमैत्री वडा घोषणा भएको वडा नम्बर ३ ठाँटीका वडाअध्यक्ष नवलसिंह रावलले घोषणा पछि दिगो व्यवस्थापनका लागि योजना नबन्नाले  निरन्तरता दिन केही चुनौति भएको बताए। घोषणा भएका वडालाई दिगोपना कायम गर्न पालिकाले थप बजेट बिनियोजन गर्नुपर्ने रावलले सुझाव दिए।

कार्यक्रममा आस्था नेपालका फिल्ड अधिकृत भ्वानसिं सार्कीले बालमैत्री स्थानीय शासनका सूचक, कानुनी प्रावधान तथा भावि रणनीतिका बारेमा सहजिकरण गरेका थिए।