दशैंलाई मध्यनजर गर्दै मेल्लेखमा सुरक्षा बैठक सम्पन्न

मेल्लख । आउँदो बडादशैं चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र उल्लासमय बनाउन मेल्लेख गाउँपालिकामा विशेष सुरक्षा बैठक साेमवार सम्पन्न भएको छ।

सुशासन समिति संयोजक कुसल राज बुढाको अध्यक्षता, गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदको प्रमुख आतिथ्य तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारको सञ्चालनमा सम्पन्न उक्त बैठकमा वडा अध्यक्ष, गाउँपालिका पदाधिकारी, स्थानीय प्रहरी प्रशासन तथा अन्य सरोकारवालाको उपस्थिति थियो।

बैठकमा दशैं अवधिमा हुने भीडभाड व्यवस्थापन, मादक पदार्थ दुरुपयोग नियन्त्रण, जुवातास नियन्त्रण, सम्भावित हुन सक्ने दुर्घटना न्यूनीकरण र काहिँ कतै चोरी–डकैती रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो।

गाउँपालिका अध्यक्ष साउदले दशैंलाई नेपालीहरूको साझा महान् चाड भन्दै सबै नागरिकलाई सुरक्षित वातावरणमा हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभयो। उहाँले “गाउँपालिकाले सुरक्षा निकायसँग समन्वय गर्दै नागरिकलाई कुनै असुविधा नहुने वातावरण बनाउन प्रतिबद्ध छ” भन्नुभयो।

स्थानीय प्रहरी प्रतिनिधिहरूले पनि पर्व अवधिमा नियमित गस्ती बढाउने, संवेदनशील क्षेत्रहरूमा निगरानी गर्ने र कानून विपरीतका गतिविधिमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका थिए।

बैठकमा सहभागी केही वडा अध्यक्षहरूले विगतमा दशैंमा हुने दुर्घटना, झगडा र अनुशासनहीनता रोकथाममा स्थानीय तह र प्रहरीबीच अझै प्रभावकारी समन्वय आवश्यक रहेको औंल्याएका थिए।

साथै, बैठकले मेल्लेखका विभिन्न बजार क्षेत्रमा मूल्यवृद्धि नियन्त्रण, अत्यावश्यक सामग्री आपूर्ति सहज बनाउने र नागरिकलाई बिनाअसुविधा चाड मनाउन सकिने वातावरण बनाउन बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ।

बैठकमा सहभागी स्थानीय नागरिक प्रतिनिधिहरूले गाउँपालिकाले सुरक्षा र व्यवस्था मात्र नभई सामाजिक सद्भाव र मेलमिलाप सान्ति सु-व्यवस्था कायम राख्न पनि ध्यान दिनुपर्ने सुझाव दिएका थिए।