जिल्लास्थित परियोजना सल्लाहकार ,बैठक तथा समिक्षा कार्यक्रम सम्पन्न

अछाम :अछामका विभिन्न पाँचवटा पालिकामा संचालित तीनवटा परियोजनाका गतिविधिबारे सरोकारवालाहरुले प्रशंसा गरेका छन्।

वर्ल्डभिजन इन्टरनेश्नलको सहयोगमा वाक नेपालद्वारा संचालित दुईवटा तथा आस्था नेपालद्वारा संचालित एउटा गरि तीनवटा परियोजनाको बुधबार जिल्लास्थित परियोजना सल्लाहकारको बैठकमा समिक्षा गरिएको छ। वाक नेपालले उत्थानशिल जीविकोपार्जन पोषण परियोजना तथा समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना तथा आस्था नेपालद्वारा संचालित सामुदायिक सहभागिता तथा बाल स्पोन्सरसिप परियोजना मार्फत संचालित गतिविधिहरु प्रभावकारी भएको सरोकारवालाले बताएका छन्।

परियोजना जिल्लाको साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका, पंञ्चदेवल विनायक नगरपालिका र मेल्लेख गाउँपालिकामा संचालित छन्। समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना तुर्माखाँदमा पनि संचालित छ। सरोकारवालाले परियोजनाले लिएको लक्ष्य र उद्देश्यअनुरुप नै समुदायमा काम भएको पाईएकाले परिणामूखि समेत भएको बताए। आगामी दिनमा यसलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले अपनत्व लिनुपर्नेमा उनीहरुले जोड दिएका छन्।

परियोजनाअन्तर्गत शिक्षा, पोषण, आय आर्जन, सामाजिक कुरीतिको अन्त्य र क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आईरहेको परियोजनाले वास्तवमा समुदायका नागरिकहरुमा छुट्टै पहिचान बनाउन सफल भएको भन्दै प्रशंसा गरेका छन्। आस्था नेपाल र वाक नेपालको कार्य क्षेत्रमा रुपान्तरण कक्षामार्फत बालबालिकाको नेतृत्व र व्यक्तित्व विकास सँगै दैनिक जीवनमा आईपर्ने समस्या सहजरुपमा समाधान गर्न सक्ने क्षमताको विकास गराएको उनीहरुले सुनाए।

किसानहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमको सिप सिकाउनुका साथै प्रविधिसमेत हस्तान्रण गरि उत्पादनमा वृद्धि गराउने काम यसअवधिमा भएको बुझिएको छ। जिल्ला समन्वय समिति अछामका प्रमुख तथा जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक ललित बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा मंललसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुँवर, कमलबजार नगरपालिका उपप्रमुख सारदा विष्ट कुवँर, अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु लगायतकाले बोलेका थिए।

कार्यक्रममा वर्ल्डभिजनका मीन बहादुर थापा, आस्था नेपालका कार्यक्रम संयोजक गणेश बोहरा, वाक नेपालका लक्ष्मीभक्त जैसी, शिवराज ढुंगाले परियोजनामार्फत भएका उपलब्धी, चुनौती र आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा जानकारी गराएका थिए। अप्सरा कुँवरले स्वागत गरेको कार्यक्रममा ४ वटै पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुख, किशोर किशोरी, किसानलगायत सरोकारवालाको सहभागिता रहेको थियो। पाँच वर्षसम्म संचालित परियोजना सकिँदैछ। उक्त परियोजना पुन:पाँच वर्षका लागि लागु हुने जनाइएको छ।