६० वर्षदेखि जग्गाविहीन पर्साका दलित र सुकुम्वासीले पाए लालपुर्जा

वीरगन्ज -पर्सामा भूमि समस्या समाधान आयोगले भूमिहीन दलित र सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गर्न सुरु गरेको छ। आयोगले शनिबार पर्साको सखुवा प्रसौनी गाउँपालिका-१ सथवलका ४४ जना भूमिहीन दलित र सुकुम्वासीहरूलाई जग्गाको लालपुर्जा वितरण गरेको हो।

शनिबार सथलव गाउँमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र आयोगका अध्यक्ष अहमदले संयुक्त रूपमा ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोवासीहरूलाई जग्गाको लालपुर्जा वितरण गरे। सथवल गाउँमा ६ दशकभन्दा बढी लालपुर्जाविहीन जग्गामा बसोबास गर्दै आएका दलित र अव्यस्थित बसोवासीहरूलाई शनिबार जग्गाको लालपुर्जा वितरण गरिएको आयोगका अध्यक्ष अमदलले बताए

योसँगै पर्सामा भूमिहीन दलित र सुकुम्वासीहरूलाई लालपुर्जा वितरणको कार्य सुरु गरिएको आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले जानकारी दिए। मधेस प्रदेशमै आयोगले पर्साबाट लालपुर्जा वितरणको काम सुरु गरेको पनि उनले बताए। अध्यक्ष अहमदलले यसपछि अब दशैं लगत्तै ठोरी गाउँपालिका वडा नम्बर ४ का १ हजार १९७ जना भूमिहीन दलित र सुकुम्वासीहरूलाई जग्गाको लालपुर्जा वितरण गरिने जानकारी दिए।

उनका अनुसार आयोगले पर्सामा कूल ५ हजार १७८ जना भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य राखेको छ। वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका तथा ठोरी र सखुवाप्रसौनी गाउँपालिकाबाट गरी ५ हजार १७८ जनाको आवेदन परेको र तीमध्ये शनिबार ४४ जनालाई लालपुर्जा वितरण गरिएको उनले बताए।

४ पालिकामा सुरुमा आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको लागत संकलन गरेको थियो। त्यसपछि वडा कार्यालय र पालिका कार्यालयले त्यसको प्रमाणीकरण गरेर आयोगमा पठाएको थियो। त्यसपछि आयोगले ३५ दिने सूचना निकालेर जग्गाको नाप नक्सा गरेर प्रतिवेदन पालिकाको कार्यालयमा पठाएको  थियो। उक्त प्रतिवेदनका आधारमा कार्यपालिकाले पुर्जा वितरणका लागि नामावली सिफारिस गरेपछि त्यसैको आधारमा आयोगले शनिबारदेखि लालपुर्जा वितरणको काम सुरु गरेको आयोगका अध्यक्ष अहमदले बताए।
शनिबार सथवलमा आयोजित लालपुर्जा वितरण कार्यक्रममा अध्यक्ष अहमदले आयोगको अध्यक्षको कार्यभार सम्हालेकै बेला आफूले आफ्नै कार्यकालमा लालपुर्जा वितरण गर्ने वाचा गरेको स्मरण गराउँदै भने, ‘मेरो त्यो वाचा र सपना आज पुरा हुँदैछ। यो मेरो अहिलेसम्मको जीवनकै सबै भन्दा खुशी भएको क्षण पनि हो।’

उनले अब बाँकी रहेका ५ हजार १३४ भूमिहीन दलित र सुकुम्वासीहरूलाई पनि लालपुर्जा वितरण गरिने प्रतिबद्धता उनले जनाए। उनले भने, ‘पर्सामा लालपुर्जा वितरणको काम सुरु भइसक्यो, अब बाँकी रहेकाहरूको पनि जग्गाको नापनक्सा जाँच लगायत आवश्यक सबै प्रक्रिया पूरा भइसकेको छ। उनीहरूले पनि अब छिट्टै लालपुर्जा पाउँछन्।’