सुरु भयो लोथर-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना

साउन, चितवन । चितवनको राप्ती नगरपालिका–१ लोथरदेखि बाराको अमलेखगञ्जसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको सुरु गरिएको छ ।

नेपाल आयाल निगमले सो परियोजनाका लागि शुक्रबार लोथरमा फिल्ड कार्यालय स्थापना गरेसँगै झण्डै १५ अर्बको परियोजना सुरु भएको जनाएको छ ।

परियोजना प्रमुख इन्जिनियर प्रदिपकुमार यादले ५४ महिनाभित्र पाइपलाइन परियोजना सक्ने लक्ष्य रहेपछि ३६ महिनाभित्र नै सक्ने गरी काम अगाडि बढाइने बताए । ‘देशको रणनीतिक र अति नै महत्वपूर्ण परियोजना भएकोले यसको गतिमा अब कमी हुँदैन, शनिबारबाट नै फिल्डमा काम देख्नसक्नुहुन्छ’, परियोजना प्रमुख यादवले भने, ‘डीपीआर बनाउने, कागजी प्रक्रियाले समय लियो, अब सबै सकिएको छ काम फटाफट अगाडि बढ्छ, आईओसीसँग समन्वय गर्ने काम सुरू हुन्छ । ’

यो परियोजनाको निर्माण भारतीय आयल निगमले गर्नेछ । कुल १५ अर्ब रकम मध्ये ५ अर्ब भारतीय आयल निगमको र १० अर्ब नेपाल आयल निगमले खर्च गर्ने गरी २०८१ असोज १७ मा सम्झौता भएको थियो । पाइपलाइनका लागि ४ अर्ब २८ करोड ८० लाख र लोथरमा निर्माण हुने भण्डारगृहसहितको ग्रीन फिल्ट टर्मिनलका लागि ९ अर्ब ८० करोड ८० लाखभन्दा बढि खर्च लाग्ने निगमले जनाएको छ ।