अछाम — अछामको प्रमुख व्यापारिक केन्द्र मानिने साफेबगर नगरपालिकाको मुख्य बजार ढलमय बनेको छ। साँफे छिपेखोलाको किनारमा रहेको मध्यपहाडी राजमार्ग अन्तर्गतको जिपपार्क बजार क्षेत्रमा ढलको निकास नहुँदा सडकमा सिधै ढल बग्ने समस्या चर्किएको छ।
नयाँ शहरले निर्माण गरिदिएको ढलको नालामा नियमित सरसफाइ नभएकाले राजमार्गसहित बजार नै दुर्गन्धित बनेको छ। विशेषगरी वर्षायाम सुरु भएपछि पानी ननिकास हुँदा ढल सडक हुँदै पसार भएर पसल र घरआँगनसम्म पुग्न थालेको स्थानीयले बताएका छन्।
व्यापारीहरू भन्छन्, “हामी दिनभरि दुर्गन्ध सहेर पसल बस्नुपर्छ। ग्राहक आउन पनि असहज हुन्छ। तर नगरपालिकाले समाधान गर्ने चासो देखाएको छैन।”
एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवरका अनुसार समितिले पटक–पटक नगरपालिकालाई समस्या समाधान गर्न आग्रह गरे पनि कुनै पहल नभएको हो। “हामीले व्यक्तिगत खर्च गरेर कयौं पटक सफा गरायौं। तर पानी ननिकास हुने व्यवस्था नभएकाले केही दिनमै उस्तै अवस्था दोहोरिन्छ,” उनले बताए।
ढल व्यवस्थापनमा बेवास्ता भएको कारणले बजार क्षेत्रमा स्वास्थ्यसम्बन्धी जोखिम बढ्ने र दूषित पानी र दुर्गन्धका कारण सरुवा रोग फैलने सम्भावना रहन्छ।
स्थानीयवासीहरूले नगरपालिकाले तुरुन्त ढल व्यवस्थापन र सरसफाइमा ध्यान दिनुपर्ने माग गरेका छन्।


