पूर्वसचिव पोखरेलमाथि आरोप- ‘५ लाख, वनकुखुरा र अरिंगाल खाए, काम गरिदिएनन्’

न, काठमाडौं । हाल अवकाश भइसकेका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव अर्जुन पोखरेलले समेत पोखरा लिचीबारीको जग्गा रजिष्ट्रेशन गरिदिने भनी पाँच लाख रुपैयाँ लिएको खुलेको छ ।

निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो रेकर्ड गर्ने व्यक्तिले अख्तियारमा गएर केही अनुसन्धान अधिकारीहरूसँग सचिव पोखरेललाई रानीबारीस्थित उनकै घरमै पुगेर पाँच लाख रुपैयाँ बुझाएको बताएका छन् ।

अडियो रेकर्ड गर्ने व्यक्ति, घुस प्रकरणबारे अनुसन्धान गरिरहेको अख्तियारको टोली एवं भूमि व्यवस्था मन्त्रालय सम्बद्ध स्रोतका अनुसार, भूमिमन्त्री बलराम अधिकारीलाई बारम्बार भेट्न जाँदा अडियो रेकर्ड गर्ने व्यक्तिको सचिव पोखरेलसँग समेत भेट भएको थियो ।

‘त्यत्तिकै कसैले पनि काम गर्दैन, साँच्चै काम गराउने हो भने कर्मचारीहरूको चित्त बुझाउनुपर्छ भनेर सचिवले पैसा माग्नुभएको रहेछ,’ भूमि व्यवस्था मन्त्रालय स्रोतले भन्यो, ‘त्यसपछि मन्त्रालयमै काम गर्ने एक कर्मचारीलाई साथमा लिएर ती व्यक्तिले रानीबारीस्थित सचिव पोखरेललाई घरमै पुगेर ५ लाख दिएका रहेछन् ।’