अछाम । वल्र्ड भिजनको सहयोगमा आस्था नेपालद्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना र वाक नेपालद्वारा सञ्चालित एकिकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत भएका क्रियाकलापको जिल्लास्तरीय सरोकारवालाको टोलीले साफेबगर ४ मस्टामान्डौ मेल्लेख ८ हात्तीकोटमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा टोलीले मेल्लेख गाउँपालिका–८ हात्तीकोट र साँफेबगर नगरपालिका–४ मस्टामान्डौ बालबालिकासँग समेत छलफल गरेको थियो। छलफलमा सहभागी स्वास्थ्य, शिक्षा, आत्मनिर्भरता र लैङ्गिक समानताको क्षेत्रमा देखिएका सकारात्मक प्रभावबारे अनुभव सुनाए भने अझै सुधार गर्नुपर्ने पक्षबारे सुझावसमेत प्रस्तुत गरे।
मेल्लेख र साँफेबगरका महिलामा आत्मनिर्भरता र सचेतनामा सकारात्मक प्रभाव
मेल्लेख–८ की जौमा ठकुल्लाले भनिन् — “पहिले हामी महिलाले खुला रुपमा आफ्नो कुरा राख्न सक्दैनथ्यौँ, अहिले भने समूहमा बसेर समस्या र समाधानबारे छलफल गर्न पाउने वातावरण बनेको छ।”
त्यस्तै सुनिता साउदले संस्थाबाट रु. ४४,२७५ को सहयोगमा सुरु गरेको खुद्रा पसलबाट अहिले दैनिक एक हजारदेखि १५ सयसम्म को सामन बिक्री भइरहेको बताइन्। जुना ठ्कुल्लाले तरकारी खेतीबाट सिजनअनुसार वार्षिक एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने अनुभव सुनाइन्।

साँफेबगर नगरपालिका–४ की निर्मला कुमालले भनिन् — “कार्यक्रमका कारण गाउँमा सचेतना बढेको छ। तर अझै ग्रामीण महिलालाई उद्यमशीलतामा जोड्ने खालका कार्यक्रम आवश्यक छन्।” तरकारी खेती गर्ने महिलाले भने उत्पादनको उचित मूल्य नपाएको गुनासोसमेत राखे।

उता, बालबालिकाले विद्यालयमा पाउने सामग्री, सुरक्षित वातावरण, बालअधिकार र सिकाइका अवसरबारे आफ्नो अनुभव सुनाउँदै “पहिलेभन्दा बढी सहयोग पाएका छौँ, तर अझै पनि गाउँका सबै बालबालिका विद्यालय आउन प्रोत्साहित हुने वातावरण चाहिन्छ” भन्ने धारणा राखे।
अनुगमन टोलीका प्रतिनिधिहरूले स्थानीय तहसँग सहकार्य गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्।
अनुगमनमा साँफेबगर नगर प्रमुख राजेन्द्र ब. कुँवर, उप प्रमुख शिव ब. कुँवर (शिलोज), साँफेबगर–४ का वडाध्यक्ष नवराज ब. बुढा, मेल्लेख–८ का वडाध्यक्ष महेश ठकुल्ला, जिल्ला समन्वय समितिका प्रतिनिधि बागेश्वरी जैशी, कृषि ज्ञान केन्द्रका प्रतिनिधि निर्मला साउँद, साँफेबगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण नाथ योगी, गैरसरकारी संस्था महासंघ अछामका अध्यक्ष बल ब. के.सी., जिल्ला अपांग उत्थान समिति संयोजक जंग बि.क., कृषि विकास शाखा प्रमुख हिरा सिँ भुल, पशु विकास शाखाका प्रतिनिधि भुपेन्द्र बुढा, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका कृपराज जोशी, वाक नेपालका उपाध्यक्ष अप्सरा कुँवर, आस्था नेपालका जिल्ला सचिव कृष्ण देवकोटा, वाक नेपाल ,आस्था नेपालका कर्मचारी र समुदायका व्यक्ति लगायत को सहभागिता रहेको थियो ।
कार्यक्रम को सहजीकरण वाकका नेपाल सामाजिक परिचालक भुपेन्द्र भण्डारी र आस्था नेपालका सामाजिक परिचालक सर्जन शाही ले गरेका थिए ।


