काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएका दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा सबैले स्पष्ट रूपमा प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनुपर्ने बताएका छन् ।
भृकुटीमण्डपमा आयोजना भएको विशेष महाधिवेशन बन्द सत्रमा प्रतिवेद पेस गर्दै शर्माले ती दुवै घटनालाई निष्पक्ष छानबिन गरी कारबाही नभए भविष्यमा फेरि देश द्वन्द्वमा फस्न सक्ने उनले स्पष्ट पारेका छन् ।
‘कसैले भदौ २४ को आगजनीको कुरा गर्ने २३ गते अबोध युवाहरू मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने, कसैले भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने । यो प्रवृत्तिले हामीलाई फेरि द्वन्द्वमा धकेल्न सक्छ । अत भदौ २३ र २४ दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा हामी सबैथरी स्पष्ट रूपले प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनु पर्दछ’, प्रतिवेदनमा भनिएको छ ।


